भेनेजुएलाको सैन्य कारबाहीमा कोलम्बियाली विद्रोही समूहका नौ जनाको मृत्यु

पढ्न लाग्ने समय : 2 मिनेट

भेनेजुएलाको सेनाले कोलम्बियाली विद्रोही समूह ईएलएनको सीमा क्षेत्रमा रहेको शिविरमा सैन्य आक्रमण गर्दा कम्तीमा नौ जना विद्रोही मारिएका छन्।

भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा शुक्रबार गरिएको उक्त कारबाहीलाई सन् २०१६ मा कोलम्बियामा शान्ति सम्झौता भएपछि विद्रोही शिविरमाथि भएको पहिलो सैन्य आक्रमणका रूपमा हेरिएको छ।
गैरसरकारी संस्था फन्डारेड्सका निर्देशक जेभियर टाराजोनाले शनिबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीसँग कुरा गर्दै आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनका अनुसार संस्थाले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा शवहरू छरिएको, रूखहरू ढलेको र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ।
संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताएका छन्। सैन्य कारबाहीमा थप १० जना ईएलएन लडाकु पनि मारिएको हुन सक्ने स्थानीय बासिन्दाले जानकारी दिएको मानव अधिकारकर्मी तथा सैन्य मामिलाकी जानकार रोसियो सान मिगुएलले उल्लेख गरेकी छन्। यद्यपि, थप मृत्युको विवरण स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
भेनेजुएला सरकारले भने घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। एएफपीले टिप्पणीका लागि गरेको अनुरोधको समेत सरकारले जवाफ नदिएको जनाइएको छ।
सन् २०१६ मा कोलम्बियाली सरकार र क्रान्तिकारी सशस्त्र बल (फार्क–एफएआरसी) बीच शान्ति सम्झौता भएपछि पनि कोलम्बियाका विभिन्न विद्रोही समूह सीमा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। ईएलएन अहिले ल्याटिन अमेरिकाका शक्तिशाली विद्रोही समूहहरूमध्ये एक मानिन्छ।
कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ। उक्त क्षेत्रमा विभिन्न विद्रोही समूहले अवैध गतिविधि, कोकिन तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न आपसी संघर्ष गर्दै आएका छन्।
कोलम्बियाली सरकारले लामो समयदेखि वामपन्थी शासन रहेको भेनेजुएलामाथि आफ्ना देशका विद्रोही समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको थियो। पछिल्लो सैन्य आक्रमणलाई सीमा क्षेत्रमा सक्रिय विद्रोही समूहविरुद्ध भेनेजुएलाको बदलिँदो सुरक्षा नीतिसँग जोडेर हेरिएको छ।

Leave a Comment