तृतराजको अर्धशतक र मोइनको उत्कृष्ट बलिङमा जनकपुर विजयी, पोखराको लगातार दोस्रो हार

पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, १५ कात्तिक। तृतराज दासको अर्धशतक र मोइन अलीको उत्कृष्ट बलिङको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले लगातार दोस्रो जित निकाल्दा पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। पोखरालाई लक्ष्यसम्म पुग्न नदिन जनकपुरका मोइन अलीले निर्णायक भूमिका खेले। उनले ४ ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए।
जनकपुरका सैफ हसन र हरमित सिंहले दुई–दुई विकेट लिए भने जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट हात पारे।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा पाँच चौका प्रहार गरे। विपिन आचार्यले २० र किरण ठगुन्नाले १५ रन जोडे। विपिन खत्री १६ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन्।
पोखराका अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। दिनेश खरेल तीन, चमिका करुणारत्ने चार, सकिब अल हसन नौ, मेहदी हसन आठ र अर्जुन घर्ती सात रनमा आउट भए। मोहम्मद सैफुद्दिनले खाता खोल्न सकेनन्।
त्यसअघि टस जितेर पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले सात विकेटको क्षतिमा १४७ रन बनाएको थियो। जनकपुरका ओपनर तृतराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
तृतराजको यो एनपीएलमा छैटौँ अर्धशतक हो। अर्का ओपनर मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए। अविशेक तिवारीले अविजित २४ रन जोडे। जिम्मी निसमले ११ रन बनाउँदा कप्तान हरमित सिंह र अनिल शाहले समान नौ तथा सैफ हसनले एक रन बनाए।
पोखराका लागि सकिब अल हसनले तीन विकेट लिए। मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान एक विकेट लिए भने मेहदी हसनले एक विकेट हात पारे।
यस जितसँगै तीन खेल खेलेको जनकपुरले दुई जित र एक हारबाट चार अंक जोडेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई आठ विकेटले हराएको थियो। पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले हारेको थियो। जनकपुरसँगको पराजयपछि पोखराको हारको शृङ्खला दुई खेल पुगेको छ।
एनपीएलअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२:३० बजे सुरु हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ।

Leave a Comment