शनिबार ३० फागुन २०८२, काठमाडौं-मध्यपूर्वमा जारी तनावबारे कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर भ्रामक सामग्री प्रसार गरेको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई) मा १० जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा एक नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गल्फन्युजका अनुसार सामाजिक सञ्जालमार्फत झुटा तथा भ्रामक भिडियो क्लिपहरू सार्वजनिक गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको सार्वजनिक गरिएको तस्वीरमा उनीहरूको अनुहार छोपिएको देखिएको छ, तर विस्तृत परिचय भने खुलाइएको छैन।
युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले ती व्यक्तिहरूलाई पक्राउ गर्न आदेश दिएका थिए। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको बताइएको छ।
अधिकारीहरूका अनुसार डिजिटल प्लेटफर्ममा निगरानी गर्ने क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको वर्तमान परिस्थितिलाई प्रयोग गर्दै जनतालाई भ्रमित पार्ने उद्देश्यले सामग्री प्रसार गरेको पाइएको हो। यसले राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र स्थिरतामा असर पार्ने आशंका गरिएको छ।
उनीहरूले प्रसार गरेका सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्य, मानिसहरूको भीड लगायतका दृश्य प्रयोग गरिएको थियो। साथै एआईको दुरुपयोग गरेर बनाइएका नक्कली भिडियोहरू पनि फेला परेको बताइएको छ।
ती भिडियोहरूमा युएईका विभिन्न स्थानमा ठूलो विस्फोट, महत्वपूर्ण स्थानहरूमा आक्रमण तथा भीषण आगलागी भएको जस्ता भ्रामक दृश्य देखाइएको अधिकारीहरूले बताएका छन्।






