सिम्रौनगढमा हतियारसहित ५० वर्षीय व्यक्ति पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज १३-बाराको सिम्रौनगढमा सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।
सशस्त्र प्रहरीको विशेष सूचना संयन्त्रबाट प्राप्त सूचनाका आधारमा गोलागञ्ज बीओपीबाट खटिएको टोलीले सोमबार सिम्रौनगढ–६ सलेमपुर क्षेत्रमा चेकजाँच गर्ने क्रममा कुशवाहालाई नियन्त्रणमा लिएको हो।
शंकास्पद अवस्थामा भेटिएपछि गरिएको खानतलासीका क्रममा उनको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच थान गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले उनको साथमा रहेको हिरो कम्पनीको एउटा मोबाइल फोनसमेत बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ।
प्रहरीले बरामद हतियार र गोलीको स्रोत तथा त्यसको सम्भावित प्रयोगबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment