भारी वर्षाले रोकियो अधिवेशन प्रक्रिया, कांग्रेस महाधिवेशन दुई दिनपछि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज १३-नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित मितिभन्दा दुई दिनपछि हुने भएको छ। देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षाका कारण पार्टीका तल्लो तहका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएपछि महाधिवेशनको मिति सारिएको हो।
कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अब महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुनेछ।
यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो। तर केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले निर्धारित समयमा महाधिवेशन अघि बढाउन कठिनाइ भएको कांग्रेसले जनाएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिबारे निर्वाचन समिति तथा विभिन्न तहका पार्टी कार्यसमितिबाट जानकारी प्राप्त भएको उल्लेख छ।
कतिपय स्थानमा क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि जारी रहेकाले सबै प्रक्रिया पूरा गर्न थप समय आवश्यक परेको कांग्रेसको भनाइ छ।
नयाँ कार्यतालिकाअनुसार असोज १८ गते खुलामञ्चमा उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि महाधिवेशनका बाँकी कार्यक्रम संशोधित कार्यतालिकाअनुसार अघि बढाइने कांग्रेसले जनाएको छ।

Leave a Comment