पुएर्टो लेगुइजामो, कोलम्बिया, चैत ९ । कोलम्बियाको दक्षिण पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको छ ।
करिब ११० जना सवार रहेको उक्त विमान अवतरणका क्रममा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा परेका मध्ये करिब २० जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
दुर्घटनाग्रस्त विमानमा सैन्य अधिकारीहरु तथा उनीहरुका परिवारका सदस्यहरु सवार रहेको बताइएको छ ।
कोलम्बियाका रक्षा मन्त्रीले घटनाको पुष्टि गर्दै यसलाई राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार प्राविधिक समस्या वा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको थियो, जसका कारण उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ । घटना स्थल घना जंगल तथा दुर्गम क्षेत्रमा पर्ने भएकाले घाइतेहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।
यो दुर्घटना पछिल्लो दशककै सबैभन्दा ठूलो सैन्य हवाई दुर्घटनामध्ये एक भएको बताइएको छ ।

