काठमाडौं, ११ चैत । राजधानीको पर्यटकीय क्षेत्र ठमेलबाट २० जना विदेशी महिला प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार युगान्डाका ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ अन्तर्गत फायरचोक क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरू सार्वजनिक स्थलमै पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील व्यवहार गर्ने तथा पैसाको लेनदेनसँग सम्बन्धित शंकास्पद गतिविधिमा संलग्न रहेको अवस्थामा फेला परेका थिए ।
उक्त गतिविधिबाट स्थानीय र पर्यटक दुबैलाई असहजता भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

