विश्व ध्यान दिवस : मानसिक शान्ति र स्वस्थ जीवनतर्फ विश्वको ध्यान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

६ पुस,काठमाडौँ । आज विश्वभर ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने गरिएको हो। नेपालमा पनि सरकारी तथा निजी स्तरमा विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घले योग र ध्यानलाई शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका प्रभावकारी उपायका रूपमा स्वीकार गरेसँगै विश्व ध्यान दिवसको औपचारिक सुरुवात गरिएको हो। गत वर्ष राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको थियो।

नेपालमा ध्यानलाई जीवनशैलीसँग जोड्दै यसलाई विश्वव्यापी पहिचान दिलाउने प्रयास भइरहेको छ। यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूले नेपाललाई ‘विश्व ध्यानको केन्द्र’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै आएका छन्। लामो समयदेखि गरिएको पहल र निरन्तर कूटनीतिक प्रयासपछि राष्ट्रसङ्घबाट मान्यता प्राप्त हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

विश्व ध्यान दिवसका अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सामूहिक ध्यान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

त्यस्तै, काठमाडौँको दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानसम्बन्धी अन्तरक्रिया तथा सामूहिक ध्यान कार्यक्रम आयोजना गरिएको छ। यसका साथै देशका विभिन्न स्थानमा आश्रम, विद्यालय र संघ–संस्थाले पनि ध्यान, योग र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरेका छन्।

मानसिक तनाव, जीवनशैलीजन्य रोग र असन्तुलित जीवनका चुनौतीबीच ध्यान अभ्यासले आन्तरिक शान्ति र सकारात्मक सोच विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यही सन्देशलाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्यका साथ आज विश्व ध्यान दिवस मनाइँदै छ।

Leave a Comment