काठमाडौं, १३ चैत २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा क्षेत्रमा हुने आक्रमणमा थप १० दिनका लागि रोक लगाउने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ समयसीमा अप्रिल ६ सम्म रहनेछ।
ट्रम्पले दुई देशबीच जारी तनाव कम गर्दै वार्तालाई अगाडि बढाउने उद्देश्यले यो निर्णय लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत इरानको अनुरोधपछि अस्थायी रूपमा आक्रमण रोकिएको उल्लेख गरेका छन्।
यसअघि पनि उनले ५ दिनका लागि आक्रमण स्थगित गर्ने घोषणा गरेका थिए, जसको अवधि सकिन लागेकै बेला थप १० दिनको समय दिइएको हो। तर, ह्वाइट हाउसले भने इरान वार्तामा नआए आक्रमण पुनः सुरु हुने चेतावनी दिएको छ।
यता इरानले भने अमेरिकासँग कुनै औपचारिक वार्ता नभएको दाबी गरेको छ। साथै, यसअघि प्रस्ताव गरिएको शान्ति योजना पनि इरानले अस्वीकार गरिसकेको छ।
यसबीच अमेरिकाले इरानको खार्ग टापुमा स्थल आक्रमण गर्न सक्ने सम्भावनाबारे विभिन्न रिपोर्ट सार्वजनिक भएका छन्। त्यसको प्रतिक्रिया स्वरूप इरानले बाब–एल–मन्डेब जलडमरूम बन्द गर्न सक्ने चेतावनी दिएको छ, जुन विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो।
इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूममा शत्रु जहाज रोक्नु आफ्नो कानुनी अधिकार भएको बताएका छन्। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको संवादमा समुद्री सुरक्षामा देखिएको अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन्।
तनाव बढ्दो भए पनि कूटनीतिक पहल जारी रहेकोले आगामी केही दिन स्थिति कसरी विकसित हुन्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो केन्द्रित भएको छ।

