देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, बूढानीलकण्ठस्थित घर भत्काउने काममा रोक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ चैत २०८२ – सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्तिमा अनुसन्धान अघि बढाएको छ।

स्रोतका अनुसार, बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा केही दिनयता घर भत्काउने काम भइरहेको थियो। अनुसन्धानमा प्रमाण नष्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले भवन भत्काउन रोक लगाएको हो।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा देउवा परिवार विरुद्ध उजुरी परेको थियो। उजुरीमा उनीहरूले सत्ताको आडमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। अनुसन्धान विभागले जम्मा गरिएका सूचना र प्रमाणको आधारमा छानबिन अगाडि बढाउँदैछ।

एक–डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारको नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ। साथै, शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा र भुषण राणाबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोबारको विवरण पनि संकलन गरिएको छ।

अनुसन्धानका विशेष सन्दर्भमा ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ र ‘नेपाल टेलिकमको बिलिङ अनियमितता’ प्रकरणसँग सम्बन्धित उजुरीका कारोबारहरू समेटिएका छन्।

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठमा एउटै कम्पाउन्डमा दुई बंगालो भवन बनाएका थिए। जेनजी आन्दोलनका क्रममा परिवारमाथि आक्रमण र आगजनी भएको थियो। केही दिनयता क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो, तर अनुसन्धानमा असर पर्न सक्ने आशंकामा उच्चपदस्थ अधिकारीको निर्देशनमा यो काम रोकिएको हो।

Leave a Comment