होर्मुज जलडमरूमा तनाव: अमेरिकालाई इरानको कडा चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, बैशाख ६ — मध्यपूर्वको रणनीतिक समुद्री मार्ग होर्मुज जलडमरूलाई लिएर इरान र अमेरिकाबीच तनाव चर्किएको छ। इरानले अमेरिकालाई चेतावनी दिँदै उक्त क्षेत्रमा लगाइएको नाकाबन्दी नहटाइए आवतजावत नै बन्द गराइने जनाएको छ।
इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिकाको कदमलाई “गलत” र “अविवेकी” निर्णयको संज्ञा दिएका छन्। उनले यसअघि नै चेतावनी दिइसकेको उल्लेख गर्दै नाकाबन्दी कायम रहे कडा कदम चालिने बताए।
गालिबाफका अनुसार यदि अमेरिकाले आफ्नो निर्णय फिर्ता लिएन भने होर्मुज जलडमरू भएर हुने अन्तर्राष्ट्रिय जहाज आवतजावत रोकिन सक्छ। उनले सो समुद्री मार्ग इरानको नियन्त्रणमा रहेको दाबी पनि गरेका छन्।
इरानले विशेषगरी उक्त क्षेत्रमा अमेरिकाले राखिएका खानी (माइन) हटाउने प्रयासप्रति आपत्ति जनाएको छ। गालिबाफले त्यसलाई युद्धविरामको उल्लंघन मान्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएका छन्।
हालै पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा गालिबाफले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। यस घटनाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा चासोलाई थप गम्भीर बनाएको विश्लेषण गरिएको छ।

Leave a Comment