४ भाद्र, रौतहट : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।
विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
विद्यार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउन हामीले पटक पटकसरकारको ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन्’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन् । हामी चुप लागेर बस्दैनौं । सरकारले यथासिघ्र विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’
शिक्षा ऐनको मापदण्डअनुसार तराईमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् ।
मधेसको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखी नै मधेसको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् ।
शिक्षकको व्यवस्था गर, विधार्थीलाई गुणस्तरीय शिक्षा देउ भन्ने सुझाव दिदा समेत सरकारले नसुन्ने र मनपरी गर्ने कामले आम जनता दुखित भएको बताउँदै उनले सरकारलाई सडकबाटै जवाफ दिनुपर्ने समय आईसकेको बताए ।
मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिईन् ।