इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत १९ — इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको उक्त भूकम्प सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको थियो।

भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर दूरीमा रहेको जनाइएको छ। भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी केन्द्रले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ। जापानी मौसम विज्ञान एजेन्सीले केही समुद्री तटमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ।

यस घटनामा हालसम्म उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा एक ७० वर्षीया वृद्धाको घर भत्किँदा मृत्यु भएको पुष्टि भएको छ। उद्धार टोलीले सार्वजनिक गरेका दृश्यहरूमा मनाडो सहरमा भवनहरूमा क्षति पुगेको र सामग्रीहरू सडकमा छरिएको देखिएको छ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्प पनि आएका छन्। राष्ट्रिय भूगर्भ एजेन्सीले थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्र र जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Comment