२३ भदौ, कलैया । बाराको सदरमुकाम कलैयास्थित भरत चौकमा जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो। उपस्थितहरूले दीप प्रज्वलन गर्दै आन्दोलनमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेताहरूले शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरे। साथै, सरकारले घटना छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत राखिएको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले युवा पुस्ताको आवाजलाई सुन्ने वातावरण सिर्जना गर्न सबै राजनीतिक दल र राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।


