काठमाडौं, चैत २० — देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आज चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। अन्य स्थानमा आंशिक बदली रहनेछ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा हुन सक्ने बताइएको छ। साथै, तराई क्षेत्रका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

