बारा, २५ कात्तिक। बाराको महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुरमा निर्माणाधीन घरमा वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सोमबार दिउँसो स्थानीय मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका बेला जयसवाललाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। तर, चिकित्सकले ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा समेत टोली खटाइएको प्रवक्ता घलेले जानकारी दिए।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृतकका दाइ रिकेश जयसवालले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

