नेपाल संवत् नयाँ वर्षमा नेवार समुदायले मनाए म्हःपूजा

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २४ कात्तिक। नेपाल संवत्को नयाँ वर्षको अवसरमा नेवार समुदायले मंगलबार आफ्नो मौलिक सांस्कृतिक पर्व म्हःपूजा विधिपूर्वक मनाएका छन्। शरीर तथा आत्माको पूजा गरी मनाइने यस पर्वले आत्मशुद्धि, आत्मसम्मान र सकारात्मक जीवनको सन्देश दिने विश्वास गरिन्छ।

नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हो। म्हःपूजाका क्रममा मानिसले आफ्नै शरीर तथा अन्तरात्माको पूजा गर्दै नकारात्मक ऊर्जा हटाई नयाँ ऊर्जा र सकारात्मक सोचका साथ जीवन अघि बढाउने कामना गर्छन्।

पूजाका लागि सर्वप्रथम व्यक्तिको आसनअगाडि विशेष मण्डल बनाइन्छ। उक्त मण्डलमा पानी, तेलका चक्र, अक्षता, कालो मास, भटमास, धान, लावा र फूललगायत सामग्री राखेर पूजा गर्ने परम्परा छ। अन्धकार हटाएर उज्यालोको प्रतीकका रूपमा लामो बत्तीसमेत बालिन्छ।

यस वर्ष काठमाडौं महानगरपालिका–२८ मा सामूहिक रूपमा म्हःपूजा आयोजना गरिएको छ। आयोजक किरण चित्रकारको पहलमा भएको कार्यक्रममा स्थानीयवासी तथा घरमा म्हःपूजा गर्न नपाएका व्यक्तिहरू सहभागी भएका थिए।

सहभागी प्रकाश चित्रकारका अनुसार रोजगारी र अध्ययनका लागि परिवारका सदस्य विदेशिने क्रम बढेसँगै घरमा परम्परागत विधिअनुसार चाडपर्व मनाउन कठिनाइ हुन थालेको छ। म्हःपूजाको विधि लामो र केही जटिल भएकाले कतिपयले चाहेर पनि पूजा गर्न नसक्ने अवस्था रहेको उनले बताए।

यही अवस्थालाई ध्यानमा राखेर चार–पाँच वर्षअघिदेखि सामूहिक म्हःपूजाको प्रयास गरिएको र यस वर्ष त्यसले मूर्त रूप लिएको उनले जानकारी दिए। सामूहिक पूजाले आफ्नो संस्कृति र परम्परासँग टाढिँदै गएका व्यक्तिहरूलाई पुनः जोड्न सहयोग पुग्ने उनको भनाइ छ।

म्हःपूजालाई शरीरको पूजा मात्र नभई वर्षभरि गरेका कामको आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने प्रकाश चित्रकारले बताए। विगतमा जानेर वा नजानेर भएका गल्तीप्रति क्षमायाचना गर्दै आगामी दिनमा कसैलाई हानि नपुर्‍याउने र सकारात्मक सोचका साथ अघि बढ्ने संकल्प गर्नु नै यस पर्वको मूल भावना रहेको उनले स्पष्ट पारे।

नेपाल संवत्को नयाँ वर्षसँगै मनाइने म्हःपूजा नेवार समुदायको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यतासँग जोडिएको यस पर्वले आत्मशुद्धि, आत्मसम्मान र सकारात्मक जीवनको सन्देश प्रवाह गर्दै आएको छ।

Leave a Comment