एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा, कसको पक्षमा जाला नतिजा?

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक २४। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। समान पाँच खेल खेलेको जनकपुर बोल्ट्स भने चार अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।
यसअघिका एनपीएल संस्करणमा यी दुई टोलीबीच चार पटक प्रतिस्पर्धा भएको छ। जसमा सुदूरपश्चिमले तीन खेल जित्दा जनकपुरले एक खेलमा मात्रै जित निकालेको छ।
यसैबीच, काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ। काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।
चितवनका रवि बोपाराले ३५ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ५५ रन बनाए। डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

लगातार चौथो जितसँगै काठमाडौं गोर्खाज पाँच खेलबाट आठ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चितवनले भने पाँच खेलबाट पाँच अंक मात्रै जोडेको छ।
सोमबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको थियो।

Leave a Comment