काठमाडौं, २४ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै प्लेअफतर्फ आफ्नो यात्रा बलियो बनाएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा जनकपुरका ब्याटर निरीह देखिएपछि सुदूरपश्चिमले महत्वपूर्ण जित हात पारेको हो।
१ सय २१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। सुरुदेखि नै दबाबमा परेको जनकपुरका ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो।
जनकपुरका तृतराज दासले २१ रन बनाए भने जिम्मी निसमले २० रन जोडे। आदित्य महताले १० रन बनाउँदा अन्य ब्याटरको प्रदर्शन कमजोर रह्यो। टोलीका छ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका स्कट कुग्लेजिनले तीन विकेट लिए। हेमन्त धामी, इशान पाण्डे, अनिल खरेल, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएर जनकपुरको इनिङ्स ध्वस्त पारे।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १२० रन बनाएको थियो। ब्रान्डन म्याकमुलेनले २३ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाए। थारिन्दु रत्नायकेले १६, आरिफ शेखले ११ र विनोद भण्डारीले १० रनको योगदान दिए।
जनकपुरका कप्तान हरमित सिंह बलिङमा प्रभावशाली देखिए। उनले १० रन खर्चेर चार विकेट लिए। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले पनि एक–एक विकेट हात पारे।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट आठ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा आफूलाई पुर्याएको छ। समान आठ अंक भएको काठमाडौं गोर्खाज नेट रनरेटका आधारमा पहिलो स्थानमा छ।
अर्कोतर्फ, ६ खेलमध्ये चारमा हार र दुईमा जित निकालेको साविक विजेता जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ। यस नतिजाले जनकपुरको प्लेअफ सम्भावना थप कठिन बनाएको छ।
एनपीएलमा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्।

