१३ दिनपछि हाजिरी जमानीमा रिहा भए ओली र लेखक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बिहीबार २६ चैत, २०८२-काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले १३ दिनपछि हाजिरी जमानीमा रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक पर्दा अनुसन्धानका लागि हाजिर हुने सर्तमा दुवैलाई उनीहरूका श्रीमती क्रमशः राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो।

प्रहरीले सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र प्राप्त भएपछि उनीहरूलाई रिहा गरेको जनाएको छ। अदालतले अनुसन्धान तोकिएको समयभित्र टुंग्याउन र म्याद थप नगर्न निर्देशन दिएको थियो। सोही आधारमा उनीहरूलाई थुनामुक्त गरिएको हो।

जेनजी आन्दोलनका क्रममा ज्यान जाने गरी दमन गरेको आरोपमा ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले चैत १४ गते पक्राउ गरेको थियो।

स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो र रिहाइपछि पनि उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। चिकित्सकका अनुसार उनको उपचार जारी रहनेछ।

यता लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो।

सर्वोच्च अदालतले यसअघि बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त गर्ने बाटो खुला गरिदिएको थियो।

Leave a Comment