मकवानपुर दुर्घटनामा बारा र पर्साका दुई जनासहित चारको मृत्यु

पढ्न लाग्ने समय : 1 मिनेट

बारा, भदौ ३० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा विद्युतीय गाडी दुर्घटना हुँदा बारा र पर्साका दुई जनासहित चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा बारा कलैयाका ३२ वर्षीय सरफरोस मियाँ र पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानुसहित नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र धनुषाका ४३ वर्षीय सुरज भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भइसकेको छ। दुर्घटनापछि उनीहरूको शव हेटौँडा अस्पताल ल्याइएको छ।
दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये बारा कलैयाका २० वर्षीय चालक अमिर अन्सारीको अवस्था गम्भीर रहेको छ। बाराकै २१ वर्षीया बबियाकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मकवानपुर हेटौँडाकी कल्पना तामाङको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। मकवानपुरकै राजकुमार स्याङतानको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
बबियाकुमारीको हेटौँडामै उपचार भइरहेको छ भने अन्य गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको विद्युतीय गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै जाने क्रममा इन्द्रसरोवर–२ सल्लेमा सडकबाट भीरतर्फ खसेर दुर्घटना भएको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment