शुक्रबार २७ चैत, २०८२-काठमाडौँ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग होर्मुज स्ट्रेटमा तेल ट्यांकरहरूसँग शुल्क असुलिरहेको विषयमा कडा आपत्ति जनाएका छन्।
होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने ट्यांकरहरूबाट इरानले शुल्क लिइरहेको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले उक्त कार्य तुरुन्त बन्द गर्न चेतावनी दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानले तेल ढुवानीसम्बन्धी व्यवस्थामा “धेरै खराब काम गरिरहेको” बताएका छन्। उनले यो विषय अमेरिका–इरानबीच भएको सम्झौतामा नपरेको दाबी गरेका छन्।
यसअघि पनि ट्रम्पले विभिन्न रिपोर्ट उद्धृत गर्दै इरानले होर्मुज स्ट्रेट हुँदै गुज्रने ट्यांकरहरूसँग शुल्क लिइरहेको उल्लेख गरेका थिए। उनले यस्तो गतिविधि अनुचित भएको भन्दै यदि यस्तो भइरहेको छ भने तुरुन्त रोक्नुपर्ने बताएका छन्।
अमेरिका र इरानबीच मंगलबार राति दुई हप्ताको युद्धविराम गर्ने सहमति भएको छ। तर सम्झौताका केही बुँदामा दुवै देशबीच विवाद देखिएको छ।
ट्रम्पले युद्धविराम सम्झौतामा जहाजसँग शुल्क लिने विषय समावेश नभएको बताएका छन्। तर इरानले प्रस्तुत गरेको दशबुँदे प्रस्तावको नवौँ बुँदामा भने होर्मुज स्ट्रेट प्रयोग गर्ने प्रत्येक जहाजबाट करिब २० लाख अमेरिकी डलर शुल्क लिने र उक्त रकम ओमानसँग बाँडफाँड गर्ने उल्लेख गरिएको छ।
यसैबीच युद्धविराम सम्झौतामा लेबननमा आक्रमण रोक्ने विषय समावेश छ वा छैन भन्नेमा पनि विवाद उत्पन्न भएको छ। युद्धविराम घोषणा भएको भोलिपल्टै इजरायलले लेबननमा हवाई आक्रमण गर्दा २०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।
होर्मुज स्ट्रेट: के हो र कहाँ पर्छ?
होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक हो, जसले अरब खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ।
यो जलमार्ग एकातिर इरान र अर्कातिर संयुक्त अरब इमिरेट्स तथा ओमान बीच अवस्थित छ।
विश्वभर खपत हुने कच्चा तेलको करिब पाँचौँ हिस्सा यही मार्ग हुँदै ओसारपसार हुन्छ। साथै ठूलो परिमाणमा प्राकृतिक ग्यास पनि यही बाटो प्रयोग गरेर ढुवानी गरिन्छ।
यहाँबाट पार हुने तेल साउदी अरब, इराक, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स र इरानबाट आउने गर्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार यस मार्ग हुँदै जाने अधिकांश तेल एसियाली देशहरू — चीन, भारत, जापान र दक्षिण कोरिया — ले खपत गर्छन्, जसको हिस्सा करिब ७० प्रतिशत रहेको छ।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति पनि यही मार्गबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको करिब पाँचौँ हिस्सा पनि यही जलमार्गबाट हुन्छ।
अमेरिका–इजरायल र इरानबीचको तनावका कारण यो रणनीतिक मार्ग प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ।
इरानका सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज स्ट्रेट बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नेछ, जसलाई सरकारले अनुमोदन गर्नुपर्ने हुन्छ।






