काठमाडौं, २७ मंसिर।
इरानकी चर्चित महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानी सुरक्षा बलले पुनः गिरफ्तार गरेको छ।
नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी सहर मशहदमा अन्य मानवअधिकार अभियन्तासहित ‘हिंस्रक तरिका’ अपनाउँदै पक्राउ गरिएको हो। पक्राउपछि उनलाई कहाँ राखिएको छ भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
मोहम्मदीको गिरफ्तारीप्रति नोबेल कमिटीले गहिरो चिन्ता व्यक्त गर्दै इरानी अधिकारीसँग उनको अवस्थाबारे तत्काल जानकारी दिन आग्रह गरेको छ। कमिटीले मोहम्मदीको सुरक्षा र मानवीय सम्मान सुनिश्चित गर्दै बिना शर्त रिहाइ गर्न समेत माग गरेको छ।
यस विषयमा इरान सरकारका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। बीबीसीका अनुसार सरकारी निकाय मौन रहेका छन्।
इरानमा महिलामाथि भइरहेको दमनविरुद्ध निरन्तर आवाज उठाएको र मानवअधिकारको पक्षमा निर्भीक रूपमा वकालत गरेको योगदानको कदरस्वरूप मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
यसअघि उनी सन् २०२१ देखि तेहरानस्थित कुख्यात एविन जेलमा बन्दी जीवन बिताउँदै आएकी थिइन्। डिसेम्बर २०२४ मा भने स्वास्थ्य कारण देखाउँदै उनलाई तीन साताका लागि अस्थायी रूपमा रिहा गरिएको थियो।

