इटहरी गोल्डकपमा प्लानिङ ब्वाइजको दबदबा, सातदोबाटोलाई ६–१ ले हराउँदै फाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सुनसरी, बैशाख ६ — १६औँ अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज काठमाडौँले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार राति इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
खेल सुरु भएको पाँचौँ मिनेटमै रोमन भुजेलले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए। त्यसपछि फागुराम थारूले उत्कृष्ट लय समात्दै २९, ३३, ६४ र ६८औँ मिनेटमा चार गोल गर्दै टोलीको जितलाई एकतर्फी बनाएका हुन्। खेलको अन्त्यतिर ७८औँ मिनेटमा प्रताप सिंह राईले थप एक गोल गर्दै जित पक्का गरे।
सातदोबाटोका लागि सकल रेग्मीले ४७औँ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काए।
उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइजका फागुराम थारू ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए।
चैत ३० गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल बैशाख ७ गते हुने तय भएको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ताले २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

Leave a Comment