ट्रकको ठक्करले बारामा स्कुटर चालकको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

बारा, असोज १० । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
शुक्रबार राति करिब ११ बजे हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशामा अघि बढिरहेको बा प्र ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटर चालक मोरङको लेटाङ नगरपालिका–१ निवासी मेखबहादुर मगरका करिब ३५ वर्षीय छोरा योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते मगरलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक जीतपुरसिमरा उपमहानगरपालिका–२१ निवासी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता घलेले जानकारी दिए।

Leave a Comment