संयुक्त राष्ट्रसंघमा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको परराष्ट्रको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता र सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी बनेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। उनको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभाका विभिन्न कार्यक्रममा नेपालको सक्रिय सहभागिताले मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गर्न योगदान पुगेको बताए।

प्रधानमन्त्री शाह असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। संयुक्त राष्ट्रसंघको मुख्यालयमा सेप्टेम्बर २२ देखि २८ सम्म आयोजित महासभाको उच्चस्तरीय सप्ताहमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए।
महासभाको ‘जनरल डिबेट’मा असोज ८ गते सम्बोधन गर्दै प्रधानमन्त्री शाहले गत महिना भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनबाट उत्पन्न गम्भीर जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर, हिमनदी तथा पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको विषय उठाएका थिए।
उनले जोखिमयुक्त हिमतालको नियमित निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली तथा विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए। सम्बोधनको अन्त्यमा उनले विश्व शान्तिका लागि बुद्धको मार्ग अनुसरण गर्न आह्वान गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए। भेटमा गुटेरेसले भोटेकोसी विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा नेपालसँग संयुक्त राष्ट्रसंघको सहकार्य र ऐक्यबद्धता रहने बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको कार्यकालको सफलताको शुभकामना दिएका थिए। भेटका क्रममा उनले भोटेकोसी विपद्पछि नेपालमा हिमताल फुट्ने जोखिम अझै कायम रहेको विषयसमेत उठाएका थिए।
त्यस्तै, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग पनि भेट गरेका थिए। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासभाका क्रममा आयोजित अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जी–७७ र चीनसम्बन्धी मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका थिए।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा समेत सम्बोधन गरेका थिए। उनले नेपालका छिमेकीसहित विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्दै द्विपक्षीय तथा बहुपक्षीय चासोका विषयमा छलफल गरेका छन्।

Leave a Comment