कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले उनलाई विभागमै हाजिर हुने गरी पत्राचार गरेको हो।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रहरी उपरीक्षक खुमबहादुर केसीबीच केही समयअघि विवाद भएको थियो। सोही घटनाबारे आवश्यक जानकारी तथा वास्तविकता बुझ्न भट्टलाई विभागमा बोलाइएको जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयका अनुसार घटनाका सम्बन्धमा थप बुझ्ने उद्देश्यले भट्टलाई विभागमा हाजिर हुन निर्देशन दिइएको हो।
भट्टले सशस्त्र प्रहरी उपरीक्षक केसीलाई फोनमार्फत धम्कीपूर्ण ढंगले कुरा गरेको विषय सार्वजनिक भएपछि विवाद थप चर्चामा आएको थियो। घटनाबारे विभागले आवश्यक छानबिन तथा सोधपुछ अघि बढाउने तयारी गरेको जनाएको छ।

