सिन्धु नदीको पानी रोकिए युद्धको कदम मान्ने पाकिस्तानी प्रधानमन्त्री शरीफको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीबाट पाकिस्तानतर्फ आउने पानी रोक्ने वा त्यसको प्रवाहमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’का रूपमा लिने चेतावनी दिएका छन्।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै शरीफले सिन्धु नदी पाकिस्तानसँगै समग्र क्षेत्रका लागि महत्वपूर्ण रहेको बताएका हुन्।
भारतले सिन्धु नदीसम्बन्धी सन्धि कार्यान्वयन रोक्ने गरी एकतर्फी निर्णय लिनु कानुनी रूपमा स्वीकार्य नभएको दाबी गर्दै उनले पानीलाई राजनीतिक वा रणनीतिक हतियारका रूपमा प्रयोग गर्न नहुने धारणा राखे।
शरीफका अनुसार पाकिस्तानको हिस्सामा पर्ने पानी रोक्ने, त्यसको बहावमा अवरोध गर्ने वा नदीको दिशा परिवर्तन गर्ने प्रयास भए त्यसलाई पाकिस्तानले गम्भीर रूपमा लिनेछ। उनले भारतलाई यस विषयमा कुनै गल्ती नगर्नसमेत चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधनका क्रममा शरीफले कश्मीरको विषय पनि उठाएका छन्। उनले कश्मीरी जनतालाई आफ्नो भविष्यबारे आफैं निर्णय गर्ने अधिकार प्राप्त नभएसम्म पाकिस्तानले उनीहरूलाई कूटनीतिक, राजनीतिक र नैतिक समर्थन जारी राख्ने बताएका छन्।
शरीफले कश्मीरलाई पाकिस्तानका लागि अत्यन्त महत्वपूर्ण विषयका रूपमा प्रस्तुत गर्दै भारतमाथि धार्मिक विभाजन र घृणा बढाउने गतिविधि गरेको आरोपसमेत लगाए। उनले यसको प्रभावका रूपमा भीड हिंसा, साम्प्रदायिक तनाव, धार्मिक स्थलमाथिका आक्रमण तथा धार्मिक स्वतन्त्रतामा प्रतिबन्धजस्ता विषय उल्लेख गरेका छन्।

Leave a Comment