नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाको नेतृत्वमा गएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुन निमन्त्रणा गरेको हो।
कांग्रेसले असोज १६ गते काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ। सहमहामन्त्री राणाका अनुसार उद्घाटन समारोहमा सहभागी हुन सबै राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा पठाइएको छ।
राणाले राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिले महाधिवेशनलाई थप महत्वपूर्ण बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनले महाधिवेशनले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई थप बलियो बनाउन योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको नेतृत्वमा रहेको कांग्रेस केन्द्रीय कार्यसमितिले असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको हो।
यसैबीच, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशनसम्बन्धी छुट्टै कार्यक्रम अघि बढाइरहेको छ।
कांग्रेस महाधिवेशनमा रवि, ओली र प्रचण्डलाई निमन्त्रणा
Leave a Comment
Leave a Comment

