थापाथलीमा डोजर, सुकुम्बासी बस्ती हटाउने अभियान सुरु—सरकारद्वारा तत्काल राहत र खानाको व्यवस्था

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख १२ — काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहानदेखि डोजर चलाएर अनधिकृत संरचना हटाउने अभियान सुरु गरिएको छ। सुरक्षा निकायको कडा उपस्थितिका बीच बस्ती खाली गराउँदै संरचना हटाउने काम अघि बढाइएको हो।
महानगरको समन्वयमा सुरु गरिएको अभियानअन्तर्गत प्रारम्भमै दुईवटा डोजर प्रयोग गरिएको छ। बस्तीका बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटिएका छन्। डोजर चलाउनु अघि स्थानीयलाई सामान सार्न समय दिइएको थियो भने सुरक्षाकर्मीहरूले त्यसमा सहजीकरण गरेका थिए।
थापाथली क्षेत्रमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। बस्ती हटाउने काम सम्पन्न भएपछि आजै गैरीगाउँ क्षेत्रका सुकुम्बासी बस्तीमा पनि यही अभियान सञ्चालन गरिने जनाइएको छ।
यसैबीच, बस्ती हटाइएपछि प्रभावित सुकुम्बासीको व्यवस्थापनका लागि सरकारले तत्काल राहत कार्यक्रम अघि सारेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानान्तरण गरिने परिवारलाई कम्तीमा दुई दिनसम्म खानाको व्यवस्था सरकारले नै गर्नेछ।
सरकारले जारी गरेको विवरणअनुसार शनिबार र आइतबार विस्थापितहरूलाई प्याकेटमा खाना उपलब्ध गराइनेछ। साथै, उनीहरूलाई राख्नका लागि पहिल्यै निर्माण गरिएका संरचनाहरू तयारी अवस्थामा राखिएको छ। ती स्थानहरूमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गरिएको जनाइएको छ।
सरकारले बस्ती हटाउने कार्यसँगै पुनःस्थापना र राहतलाई समान प्राथमिकतामा राखेर काम अघि बढाएको दाबी गरेको छ।

Leave a Comment