बारा, कात्तिक १७। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक जना घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा सोही ठाउँका करिब ३२/३३ वर्षीय उत्तम रमौली मगरलाई छर्रा लागेको हो।
छर्रा लागेर घाइते भएका रमौलीलाई उपचारका लागि पर्साको गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
घटनाबारे साँझ ६ः५० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बारा, अस्थायी प्रहरी पोस्ट डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले बन्दुक पड्काएको आरोपमा गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय सिमराबाट भइरहेको छ।

