काठमाडौं, वैशाख १२ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक नियुक्तिका लागि सरकारले खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनको समयसीमा दिँदै इच्छुक योग्य उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको हो।
सरकारले यसपटक महानिर्देशक नियुक्ति प्रक्रिया पारदर्शी बनाउने दाबी गर्दै सरकारी सेवा वा क्यानमै कार्यरत योग्य व्यक्तिबीच प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने तयारी गरेको जनाएको छ। यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा पक्राउ परेपछि उक्त पद रिक्त रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसपटक ‘दलको झोला बोकेर नियुक्ति खाने दिन सकिएको’ उल्लेख गरेका छन्। उनले अब योग्यता, क्षमता र इमान्दारीका आधारमा मात्र नियुक्ति हुने स्पष्ट पारे।
कानुनी व्यवस्थाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ बमोजिम योग्य व्यक्ति मात्रै महानिर्देशक बन्न सक्नेछन्। ऐनले सामान्यतया नेपाल सरकार वा प्राधिकरणमै कार्यरत कर्मचारीमध्येबाट नियुक्ति गर्ने व्यवस्था गरेको छ।
महानिर्देशकको कार्यकाल चार वर्षको हुनेछ भने सरकारले आवश्यक ठानेमा पुनः नियुक्ति गर्न सक्ने प्रावधान पनि रहेको छ। आवेदन दिन चाहनेले शैक्षिक योग्यता, अनुभव, तालिम र विस्तृत बायोडाटासहित कम्तीमा तीन हजार शब्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ।
सरकारको यो कदमलाई क्यानभित्रको नेतृत्व चयन प्रक्रिया सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ।
क्यान महानिर्देशकमा खुला प्रतिस्पर्धा, ‘राजनीतिक पहुँच होइन योग्यता’मा जोड
Leave a Comment
Leave a Comment

