विराटनगर, २३ कात्तिक। मोरङको जहदा गाउँपालिकामा रड प्रहारबाट एक पुरुषको हत्या भएको छ। जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको आफ्नै श्रीमती र एक भारतीय नागरिकको रड प्रहारबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतका २७ वर्षीय सुनील मिश्रले रड प्रहार गरेका थिए। टाउकोमा रडले प्रहार गर्दा बुधरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनापछि प्रहरीले भारतीय नागरिक सुनील मिश्रलाई पक्राउ गरेको छ भने मृतककी श्रीमती कमली मास्के फरार रहेकी छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार बुधराममाथि रड प्रहार गर्नुको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

