काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।
हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो।
प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो भने दुई खेल वर्षाका कारण रद्द भए। यससँगै नेपालले अपराजित यात्रालाई कायम राख्दै उपाधि आफ्नो नाममा गर्न सफल भयो।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा आयोजक चीनसँगको प्रतिस्पर्धा वर्षाका कारण नतिजाविहीन बनेको थियो।
त्यसपछि तेस्रो खेलमा नेपालले हङकङलाई ९२ रनको फराकिलो अन्तरले हरायो। चौथो खेलमा थाइल्यान्डलाई नै ५२ रनले पराजित गर्दै नेपालले आफ्नो दबदबा कायम राख्यो।
पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराएपछि नेपालको उपाधि सम्भावना थप बलियो बनेको थियो। अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो।
तर, प्रतिकूल मौसमका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि नेपाल अपराजित रहँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो।
नेपालको यो सफलताले उमेर समूहको महिला क्रिकेटमा नेपाली टोलीको क्षमता र प्रतिस्पर्धात्मक प्रदर्शनलाई थप उजागर गरेको छ।

