एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। आजका दुवै खेलले प्लेअफ समीकरणमा प्रभाव पार्ने देखिएको छ।
दिनको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।
चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना कायम राख्न कर्णालीलाई जित आवश्यक छ। अर्कोतर्फ, लगातार चार खेलमा पराजित भएको पोखरा पहिलो जितको खोजीमा हुनेछ।

आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्नु हुनेछ।

चार खेलबाट तीन जित र एक हारसहित चार अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा छ। पाँच अंकसहित चौथो स्थानमा रहेको चितवनले चार खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

आजको खेल जित्दै दुवै टोली शीर्ष स्थानको दौडमा आफूलाई बलियो बनाउने योजनामा छन्। त्यसैले चितवन र काठमाडौंबीचको भिडन्तलाई विशेष महत्त्वका साथ हेरिएको छ।

Leave a Comment