काठमाडौं, वैशाख २० — महोत्तरीमा सात वर्षअघि भएको एक रहस्यमय हत्या घटनाको पर्दाफास भएको छ। ‘सार्प सुटर’ प्रयोग गरेर आफ्नै पतिको हत्या गराएको आरोपमा एक महिला र उनकी दुई बहिनीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–३ गौरीडाँडाकी ३८ वर्षीया पूजा थापा, उनकी बहिनीहरू ३३ वर्षीया निशा बस्नेत र ३६ वर्षीया आरती बस्नेत रहेका छन्। उनीहरूलाई भारतबाट फर्किंदै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर महोत्तरी ल्याइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमका अनुसार, पूजा थापाले आफ्ना बहिनीहरू र आमासमेतको सहयोगमा पाँच जना ‘सार्प सुटर’ प्रयोग गरी पति श्रवण थापा (सरोज)को हत्या गराएकी थिइन्। अनुसन्धानबाट उनीहरूले करिब पाँच लाख रुपैयाँ सुपारी दिएर हत्या गराएको खुलेको छ।
२०७६ साल भदौ ५ गते राति बर्दिवास–सिन्धुली सडकखण्डको स्मृतिपार्क नजिकै श्रवण थापा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सुरुमा दुर्घटना जस्तो देखिए पनि घटनाको प्रकृतिले योजनाबद्ध हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा यसअघि नै चार जना ‘सार्प सुटर’ पक्राउ परिसकेका थिए। उनीहरूले दिएको बयानका आधारमा पत्नी पूजा थापाको संलग्नता पुष्टि भएको थियो। घटनापछि पूजा, उनकी बहिनीहरू तथा अन्य आफन्त भारत भागेका थिए र लामो समयसम्म त्यहीँ लुकेर बसेका थिए।
प्रहरीका अनुसार, हत्या हुनु केही दिनअघि श्रवणले २० लाख रुपैयाँमा जग्गा बिक्री गरेका थिए। आर्थिक विवाद र व्यक्तिगत कारणले हत्या गराइएको प्रारम्भिक निष्कर्ष रहेको छ। पक्राउ परेकी पूजाले श्रीमानले लागुऔषध सेवन गरेर दुःख दिने गरेको भन्दै हत्या गराएको बयान दिएकी छन्।
यो घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका छन्। फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरूलाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
७ वर्षपछि खुल्यो सनसनीपूर्ण हत्या: ‘सार्प सुटर’ प्रयोग गरी पतिको हत्या गराएको आरोपमा पत्नी पक्राउ
Leave a Comment
Leave a Comment

