काठमाडौँ : कोठा भाडामा लिँदा जात सोधेर विभेद गरिएको अनुभव सुनाउँदै युवाहरू सडकमा उत्रिएका छन्। राजधानीका विभिन्न स्थानमा मंगलबार गरिएको प्रदर्शनले अझै पनि समाजमा जरा गाडेर बसेको जातीय सोचप्रति कडा प्रश्न उठाएको छ।
‘जातीय छुवाछुत विरुद्धको अभियान’ अन्तर्गत आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले हातहातमा प्लेकार्ड बोकेका थिए। “जात सोधेर कोठा नदिने तिम्रो चेतना कुन जमानामा छ?”, “विभेद गर्ने घरधनीलाई बहिष्कार गरौँ” र “सभ्य समाजको पहिचान बराबरी हो” जस्ता सन्देशले सडक तातिएको थियो।
प्रदर्शनकारीहरूका अनुसार राजधानीजस्तो विकसित सहरमा समेत कोठा खोज्दा नाम, थर र जात सोधेर अस्वीकार गरिनु लाजमर्दो अवस्था हो। “शिक्षा र चेतनाको कुरा गर्ने समाजमै यस्तो व्यवहार हुनु दुःखद हो,” एक सहभागीले भने।
उनीहरूले सरकारले कडा नीति बनाएर यस्ता विभेदकारी अभ्यास रोक्नुपर्ने माग गरेका छन्। साथै, घरधनीहरूलाई पनि चेतना परिवर्तन गर्दै समान व्यवहार गर्न आग्रह गरिएको छ।
प्रदर्शनका क्रममा युवाहरूले सडकमै ब्यानर राख्दै सांकेतिक विरोध जनाएका थिए। उनीहरूको भनाइमा, जबसम्म व्यवहारमा परिवर्तन आउँदैन, यस्तो अभियान जारी रहनेछ।
जातका आधारमा कोठा नदिएको विरोधमा युवाको प्रदर्शन
Leave a Comment
Leave a Comment

