रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा सक्रिय बनेको छ। यसअघि पटक–पटक स्थगित भएको महाधिवेशन अब भदौ वा असोजभित्र गर्ने लक्ष्यसहित पार्टीले वडा र पालिका तहको अधिवेशनलाई तीव्र बनाएको हो।
पार्टी सचिवालय बैठकले जेठ महिनाभर विभिन्न चरणमा वडा, पालिका र जिल्ला अधिवेशन सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। समिति गठन नभएका वडामा जेठ २ गते भेला तथा गठन भएका वडामा जेठ ३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ। त्यसपछि पालिका र जिल्ला तहसम्म अधिवेशन प्रक्रिया अघि बढाइनेछ।
रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी गरे पनि केन्द्रीय महाधिवेशनको मिति भने अझै तय गरेको छैन। पार्टीभित्र भने भदौमै प्रथम महाधिवेशन गर्ने गरी छलफल अघि बढिरहेको बताइएको छ।
महाधिवेशनमार्फत केन्द्रीयदेखि वडा तहसम्म छ तहका निर्वाचित समिति बनाइने तयारी गरिएको छ। संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १२९ सदस्यीय हुनेछ भने कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।
पार्टीले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता लगायतका पद महाधिवेशन प्रतिनिधिबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ। साथै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहमा पनि छुट्टाछुट्टै निर्वाचित संरचना निर्माण गरिनेछ।
रास्वपाले चुनावका कारण प्रभावित भएको संगठन निर्माण प्रक्रियालाई अब तीव्र गतिमा अघि बढाउने रणनीति लिएको जनाएको छ। पार्टी स्रोतका अनुसार केही जिल्लामा तदर्थ समिति गठन गरेर छिटो अधिवेशन सम्पन्न गर्ने तयारीसमेत भइरहेको छ।
महाधिवेशन तयारीमा रास्वपा, वडा तहदेखि नेतृत्व चयन प्रक्रिया सुरु
Leave a Comment
Leave a Comment






