काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पक्षका नेताहरूबाटै नेतृत्व छाड्न दबाब खेप्न थालेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ। महाधिवेशनमा ओलीकै प्यानलबाट निर्वाचित नेताहरूले समेत अब नयाँ नेतृत्व आवश्यक रहेको धारणा राख्न थालेपछि एमालेभित्र शक्ति संघर्ष सतहमा आएको हो।
शुक्रबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। उनीहरूले वर्तमान नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै संगठन पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन्।
उनीहरूको भनाइमा समर्थन जनाउँदै उपाध्यक्ष गोकर्ण विष्टले पनि ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत राखेका थिए। एमालेको ११ औँ महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित नेताहरू नै अहिले नेतृत्व परिवर्तनको पक्षमा देखिन थालेपछि अध्यक्ष ओलीमाथि आन्तरिक दबाब बढेको बताइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा एमाले कमजोर बनेपछि ओलीको भूमिकामाथि पार्टीभित्र प्रश्न उठ्न थालेको थियो। २०७९ सालको चुनावमा ७८ सिट जितेको एमाले पछिल्लो निर्वाचनमा २५ सिटमा सीमित भएपछि अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठेको थियो। तर, उनले राजीनामा दिन अस्वीकार गर्दै आएका छन्।
यसबीच, जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओली पक्राउ परेका थिए। चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली स्वास्थ्य समस्याका कारण केही समय अस्पतालमा बसेका थिए। पछि सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए।
ओलीविरुद्ध पार्टीभित्र रणनीतिक छलफल तीव्र भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय हुने संकेत देखिएको छ। वैशाख अन्तिम साता ओली र भण्डारीबीच गुण्डुस्थित निवासमा लामो छलफल भएको थियो। त्यसलगत्तै एमालेले रोकिएको भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको थियो।
एमालेभित्रका केही नेताहरूले भण्डारीलाई आगामी नेतृत्वको विकल्पका रूपमा अघि सार्ने तयारी गरिरहेका छन्। यद्यपि, भण्डारी निकट नेताहरूले भने पार्टी पुनर्गठनमार्फत सहमतिमा अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।
शुक्रबारको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच चर्को भनाभनसमेत भएको स्रोतहरूको दाबी छ। गुरुङले “पार्टी जोगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको” धारणा राखेपछि ओली आक्रामक बनेका थिए। त्यसपछि गुरुङले “पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभएको र कम्युनिस्ट आन्दोलनमा आफ्नो पनि योगदान रहेको” जवाफ दिएको बताइएको छ।
१९ सदस्यीय सचिवालयभित्र महासचिव, उपमहासचिव र केही सचिवहरू समेत नेतृत्व परिवर्तनको पक्षमा उभिन सक्ने संकेत देखिएको छ। पार्टीभित्र ओलीको समर्थन क्रमशः कमजोर बन्दै जाँदा एमालेमा नयाँ शक्ति समीकरण बन्ने चर्चा तीव्र बनेको छ।
आफ्नै नेताबाटै दबाबमा केपी शर्मा ओली, एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्कियो
Leave a Comment
Leave a Comment






