काठमाडौं, १५ चैत २०८२ – पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए। उनीहरूलाई जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनासम्बन्धी आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

