आन्तरिक विवाद चर्किएका बीच कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, २७ पुस २०८२ — पार्टीभित्र चर्किएको आन्तरिक विवादका बीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन तथा विरुवामा पानी हालेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोह कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा सम्पन्न भयो।

महाधिवेशन उद्घाटन सत्र र बन्दसत्र गरी दुई दिन चल्ने आयोजकले जनाएका छन्। आज उद्घाटन सत्र सञ्चालन हुनेछ भने भोलि बन्दसत्रमार्फत पार्टीका महत्वपूर्ण राजनीतिक तथा संगठनात्मक विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी

आयोजक पक्षका अनुसार पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आह्वान गरिएको हो। करिब ६० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको आयोजकको दाबी छ।

र्‍यालीसहित भृकुटीमण्डप पुगे प्रतिनिधि

उद्घाटनअघि शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बाजागाजासहित र्‍याली निकाल्दै प्रतिनिधि तथा कार्यकर्ता भृकुटीमण्डप पुगेका थिए। र्‍यालीमा सहभागीहरूले पार्टी नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र सुदृढीकरण र संगठनात्मक सुधारको माग उठाएका थिए।

नाम दर्ता प्रक्रिया बिहानैदेखि

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानैदेखि सुरु गरिएको छ। दर्ता स्टलहरूमा लामो लाइन देखिएको छ। आयोजकका अनुसार दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ।

ट्राफिक व्यवस्थापन प्रभावित

महाधिवेशनका कारण भृकुटीमण्डप क्षेत्रमा ठूलो भिड भएपछि आसपासको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। समाज कल्याण परिषदका अनुसार भृकुटीमण्डपको करिब १५ हजार क्षमतामध्ये स्थल लगभग भरिएको छ। पद्मोदय माध्यमिक विद्यालयतर्फबाट प्रदर्शनीमार्ग जाने सवारी साधनमा रोक लगाइएको छ भने विद्युत प्राधिकरणतर्फबाट आउने सवारी साधन पनि रोक्ने विषयमा ट्राफिक प्रहरीसँग छलफल भइरहेको जनाइएको छ।

संस्थापन पक्षको असहमति

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै औपचारिक सहभागिता जनाएको छैन। संस्थापन पक्षका नेताहरूले आवश्यक प्रक्रिया पूरा नभएको, प्रतिनिधिको संख्या र हस्ताक्षरको प्रामाणिकतामाथि प्रश्न उठाएका छन्। उनीहरूले विशेष महाधिवेशनले पार्टीलाई एकताभन्दा विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।

तर आयोजक पक्षले भने विधानअनुसार नै प्रक्रिया पूरा भएको र विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक रहेको जिकिर गरेको छ। पार्टीभित्र देखिएको संकट समाधान र नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ।

भोलि बन्दसत्रमा निर्णायक छलफल

भोलि हुने बन्दसत्रमा पार्टीको राजनीतिक दिशा, संगठनात्मक संरचना, नेतृत्वको भूमिका र आगामी कार्ययोजनासम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाइएको छ। बन्दसत्रबाट आउने निष्कर्षले नेपाली कांग्रेसको आन्तरिक राजनीति र भावी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Comment