प्रधानमन्त्रीमाथि हर्क साम्पाङको प्रहार, राजीनामाको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएका हुन्।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित भएको, संसदमा जवाफ नदिएको तथा जनप्रतिनिधि संस्थाको मर्यादा कायम राख्न नसकेको भन्दै उनले कडा आलोचना गरेका छन्। साम्पाङले यसलाई संसदीय अभ्यासमाथिको गम्भीर प्रहार भएको बताएका छन्।
विज्ञप्तिमा उनले प्रधानमन्त्रीको व्यवहारलाई “संसदको इतिहासमा कालो धब्बा” भन्दै जनताको सार्वभौम सदनको अपमान भएको टिप्पणी गरेका छन्। लोकतान्त्रिक अभ्यास कमजोर बनाउने शैली स्वीकार्य नभएको उनको भनाइ छ।
साम्पाङले प्रधानमन्त्रीमाथि जनताका प्रश्नबाट भागेको आरोप पनि लगाएका छन्। “आफ्नो धरातल बिर्सेर उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले गलत नजिर बसाउँछ,” भन्दै उनले प्रधानमन्त्री असफल र असक्षम भएको दाबी गरेका छन्।
न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै उनले नैतिकताको आधारमा पद छाड्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। साम्पाङका अनुसार लोकतन्त्रको सम्मान जोगाउन अब मार्ग प्रशस्त गर्नु नै उपयुक्त विकल्प हुनेछ।

Leave a Comment