काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल समय छोट्याइएको भन्दै असन्तुष्टि जनाएका छन्।
संघीय संसद्मा बोल्दै उनले मुलुकको आगामी एक वर्षको दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त बहस हुनुपर्ने बताए। विगतमा कम्तीमा तीन दिनसम्म छलफल हुने परम्परा रहे पनि यसपटक केवल ६ घण्टामा सीमित गरिएकोप्रति उनले आपत्ति जनाए।
आङ्देम्बेले नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई देशको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने बताए।
उनले सरकारले डिजिटलाइजेसन र प्रविधिको विषयलाई प्राथमिकता दिए पनि गाउँका किसान, मजदुर र गरिब नागरिकसम्म त्यसको पहुँच पुर्याउने स्पष्ट योजना नदेखिएको आरोप लगाए। नागरिक एपको प्रभावकारी प्रयोगका लागि गुणस्तरीय मोबाइल र प्रविधिमा सर्वसाधारणको पहुँच आवश्यक रहेको उनको भनाइ थियो।
सरकारले प्रविधिको चर्चा गरे पनि आधारभूत उपकरणको पहुँच विस्तारबारे स्पष्ट योजना नल्याएको भन्दै उनले यसले सरकारको सोच अझै भुइँतहका नागरिकसम्म नपुगेको संकेत गर्ने बताए।
दुईतिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई अझ व्यवस्थित र जनमुखी बनाउन नसकेको टिप्पणी गर्दै आङ्देम्बेले आगामी बजेटमार्फत यस्ता कमजोरी सुधार्न सरकारलाई आग्रह गरेका छन्।
नीति तथा कार्यक्रममाथि पर्याप्त बहस हुनुपर्थ्यो : भीष्मराज आङ्देम्बे
Leave a Comment
Leave a Comment







