काठमाडौं, असोज ६ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह अपराह्न ४ः१५ बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनीसँगै प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन्।
महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी र समन्वय गर्न निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी यसअघि नै न्यूयोर्क पुगिसकेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको हो। महासभाको उच्चस्तरीय बैठक असोज ६ गतेदेखि सुरु हुँदैछ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। यसअघि एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेका शाह भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि नेपालको अवस्था र जलवायु परिवर्तनका प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभामा सहभागी हुन लागेका हुन्।
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि विपद्बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर उठाउने तयारी सरकारले गरेको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी थियो। तर भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा धारणा राख्ने निर्णय गरिएको हो।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ। परराष्ट्रमन्त्री खनाल भने न्यूयोर्कमै रहेर विभिन्न मुलुकका प्रतिनिधिसँग साइडलाइन भेटवार्ता तथा अन्य कूटनीतिक गतिविधिमा सहभागी हुने तयारीमा छन्।
प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
Leave a Comment
Leave a Comment

