काठमाडौं : भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको ज्यान गएको छ। बिहीबार राति निर्माण कार्य भइरहेका बेला अचानक पुलको संरचना ढलेपछि कामदारहरू भग्नावशेषमा पुरिएका थिए।
दुर्घटनामा हमीरपुरका दुई र बाँदा जिल्लाका चार जना कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा घाइते भएका अन्य तीन जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
पुल भत्किएसँगै निर्माण कार्यको गुणस्तर र सुरक्षामापदण्डमाथि प्रश्न उठेको छ। जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थल पुगेर निरीक्षण गरेका छन् भने दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ।
स्थानीय प्रशासनका अनुसार दुर्घटना भएको समयमा उत्तर प्रदेशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी, वर्षा र चट्याङ परेको थियो। मौसम विभागले यसअघि नै खराब मौसमको चेतावनी जारी गरेको थियो। प्रारम्भिक अनुमानमा मौसमको प्रतिकूल प्रभावका कारण पनि दुर्घटना भएको हुन सक्ने बताइएको छ।
घटनापछि मृतकका परिवारमा शोक छाएको छ भने घाइतेहरूको अवस्था निगरानीमा राखिएको अधिकारीहरूले बताएका छन्।
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु
Leave a Comment
Leave a Comment






