काठमाडौं । एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र हङकङ आमनेसामने हुँदैछन्। सिंगापुरमा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। हङकङले भने मलेसियामाथि ६ विकेटको जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।
दुवै टोलीबीचको टी–२० प्रतिस्पर्धा निकै रोचक देखिएको छ। हालसम्म भएका १२ भेटमध्ये दुई खेल नतिजाविहीन रहँदा नेपाल र हङकङले समान ५–५ खेल जितेका छन्। यस कारण पनि आजको खेललाई प्रतिस्पर्धात्मक मानिएको छ।
फाइनल खेल नेपाली टोलीका कप्तान Dipendra Singh Airee का लागि विशेष हुनेछ। उनले आज आफ्नो अन्तर्राष्ट्रिय टी–२० करियरको १००औँ खेल खेल्दै नयाँ उपलब्धि हासिल गर्नेछन्।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय टी–२० यात्रा सुरु गरेका दीपेन्द्र अहिले नेपाली टोलीका प्रमुख खेलाडी र कप्तानका रूपमा स्थापित छन्। उनले ९९ खेलमा २,२११ रन बनाउनुका साथै ६२ विकेटसमेत लिएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि २ हजारभन्दा बढी रन र ५० भन्दा बढी विकेट लिने पहिलो खेलाडी बनेका दीपेन्द्रको यो उपलब्धिले फाइनल खेललाई अझ विशेष बनाएको छ। अब नेपाल उपाधिसहित कप्तानको ऐतिहासिक खेललाई सम्झनलायक बनाउने लक्ष्यमा मैदान उत्रनेछ।
एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल–हङकङ भिडन्त, दीपेन्द्रको ऐतिहासिक १००औँ खेल
Leave a Comment
Leave a Comment






