अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक प्रका खड्का बाराको उत्कृष्ट प्रहरी घोषित

पढ्न लाग्ने समय : 2 मिनेट

बारा । अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार प्रहरी निरीक्षक खड्कालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानपत्र प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उनलाई सम्मानपत्र प्रदान गरेका थिए। सम्मान कार्यक्रममा प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेको समेत उपस्थिति थियो।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत खड्काले गम्भीर प्रकृतिका घटनाको अनुसन्धान र संलग्न व्यक्तिलाई पक्राउ गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

गत असोज ३ गते साँझ जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबल अगाडि भएको धारिलो हतियार प्रहार घटनामा उनको नेतृत्वमा खटिएको प्रहरी टोलीले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो।

जितपुरसिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय शेरबहादुर खड्का र सोही स्थानका करिब २२ वर्षीय आयुष राईबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा शेरबहादुरको घाँटीमा गम्भीर चोट लागेको थियो। घाइते शेरबहादुर बोल्न नसक्ने अवस्थामा पुगेपछि उनलाई उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो।

घटनापछि फरार रहेका आयुष राईको खोजीका लागि प्रहरी निरीक्षक खड्काको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले उनलाई जितपुरसिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित धानबारीबाट नियन्त्रणमा लिन सफल भएको थियो।
अपराध अनुसन्धानमा देखाएको सक्रियता, जिम्मेवारीप्रतिको इमानदारी, प्रहरी नीति तथा निर्देशनको पूर्ण पालना र उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै खड्कालाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको कार्यसम्पादनबाट अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहन मिल्ने र संगठनको कार्यदक्षता तथा प्रभावकारिता अभिवृद्धि हुने अपेक्षासहित असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

Leave a Comment