सेवाग्राहीको गुनासोपछि प्रजिअ अधिकारीद्वारा कलैया अस्पतालमा छड्के अनुगमन, सेवा सुधार्न निर्देशन

पढ्न लाग्ने समय : 2 मिनेट

बारा । प्रादेशिक अस्पताल कलैयामा सेवाग्राहीबाट सेवा प्रवाह, सरसफाइ र व्यवस्थापनबारे गुनासो बढेपछि बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले शुक्रबार अस्पतालको छड्के अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइदेखि स्वास्थ्य उपकरणको सञ्चालन र कर्मचारी व्यवस्थापनसम्म सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

अनुगमनका क्रममा अस्पताल परिसर तथा भवनभित्र फोहोर देखिएपछि प्रजिअ अधिकारीले तत्काल सरसफाइमा ध्यान दिन निर्देशन दिए। सरसफाइकर्मीलाई प्रभावकारी रूपमा परिचालन गरी अस्पतालभित्र र बाहिरका सबै क्षेत्र सफा राख्नुपर्ने उनको भनाइ थियो।

चिकित्सकका कार्यकक्ष तथा अन्य सेवा कक्षसमेत स्वच्छ र व्यवस्थित हुनुपर्ने भन्दै आगामी अनुगमनमा कुनै पनि स्थानमा फोहोर भेटिन नहुने उनले स्पष्ट पारे।

अधिकारीले अस्पतालका कर्मचारीको ड्युटी तालिका सेवाग्राहीले समेत सहजै देख्न सक्ने स्थानमा राख्न, उपलब्ध स्वास्थ्य उपकरण तथा मेसिन पूर्ण क्षमतामा सञ्चालन गर्न र मौजुदा जनशक्तिको अधिकतम उपयोग गर्न निर्देशन दिए। जनशक्ति अभावको समस्या देखाएर सेवा प्रवाह कमजोर बनाउन नहुने भन्दै उपलब्ध कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, ओपीडी सेवा नागरिकका लागि सहज र सर्वसुलभ बनाउन तथा अस्पतालबाट उपलब्ध गराइने निःशुल्क औषधिको आम्दानी र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न उनले निर्देशन दिएका छन्।
अस्पतालको प्रयोगशाला (ल्याब) सेवाप्रति सेवाग्राहीबाट धेरै गुनासो आएको विषयलाई गम्भीरतापूर्वक लिँदै उनले नमुना संकलन गर्ने समय र परीक्षण रिपोर्ट उपलब्ध गराउने अवधि स्पष्ट उल्लेख गरी प्रयोगशालाको अगाडि सूचना टाँस्न निर्देशन दिए। यसले सेवाग्राहीलाई सेवा प्राप्त गर्ने समयबारे जानकारी लिन सहज हुने उनको भनाइ थियो।

अनुगमनका क्रममा अस्पतालमा उपलब्ध उपकरण तथा सामग्रीको पर्याप्त उपयोग हुन नसकेको विषयसमेत उठेको थियो। विशेषगरी रेडियोलोजी सेवामा प्रयोग हुँदै आएको पुरानो मेसिन मर्मत गर्न नसकिएको र दुईवटा मेसिनमध्ये एउटा मात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो। एक्सरे मेसिनको अवस्था सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

प्रजिअ अधिकारीले सञ्चालनमा रहेका मेसिनलाई आवश्यकताअनुसार अद्यावधिक गर्न र मर्मत गरेर सञ्चालन गर्न नसकिने अवस्था भए नयाँ उपकरणबाट प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए। यसका लागि प्रदेश सरकारसँग समन्वय गरी आवश्यक पहल गर्नसमेत उनले अस्पताल प्रशासनलाई आग्रह गरे।

Leave a Comment