लगातार चौथो हारले पोखरालाई प्लेअफ दौडमा धक्का, चितवन ३० रनले विजयी

पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, कात्तिक २०। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। लगातार चौथो हार बेहोरेसँगै पोखराको प्लेअफ यात्रा कठिन बनेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले १८औँ ओभरमा कमल ऐरीको बलमा क्याच आउट हुनुअघि २० बलको सामना गरेका थिए। युवराज शर्माले १९, किरण ठगुन्नाले १३, अर्जुन घर्तीले १२ र मेहदी हसनले ७ रन बनाए। कुशल भुर्तेल र सदीरा समरविक्रमले समान ४ रन जोडे।
चितवनका बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कमल ऐरीले ३ विकेट लिँदा डान मुस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।
चितवनका ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुनले ३१ र मलानले २८ रन बनाए। कुशल मल्लले ११ तथा डान मुस्लीले २ रन जोडे।
पाँचौँ विकेटका लागि रवि बोपारा र सिकन्दर राजाले ६० रनको महत्त्वपूर्ण साझेदारी गरे। बोपाराले २८ बलमा ३ चौका र १ छक्कासहित ३५ रन बनाए। त्यस्तै, राजाले १६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए। कमल ऐरी ४ रनमा अविजित रहे।
पोखराका बलरमध्ये चमिका करुणारत्ने, विपीन खत्री र कुशल भुर्तेलले समान २–२ विकेट लिए।
लगातार चौथो हारसँगै पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ। यसअघि पोखरा पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेट, दोस्रो खेलमा जनकपुरसँग ९ रन र तेस्रो खेलमा लुम्बिनीसँग ८ विकेटले पराजित भएको थियो। बाँकी तीन खेल जिते पनि पोखराले प्लेअफमा स्थान बनाउन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ।
चितवन भने यस जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दुई जित, एक हार र वर्षाका कारण एक खेलमा अंक बाँडेको चितवनको ५ अंक पुगेको छ।
शुक्रबारकै पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै छैटौँ स्थानबाट दोस्रो स्थानमा उक्लिएको थियो।
एनपीएलअन्तर्गत शनिबार एक खेल हुनेछ। साँझ ५ बजे सुरु हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Comment