१८२ सिट जित्दैमा मात्तिनु हुँदैन, जनताको विश्वासको सम्मान गर्नुपर्छ : रवि लामिछाने

पढ्न लाग्ने समय : 4 मिनेट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा १८२ सिट प्राप्त गर्दैमा पार्टीका नेता तथा कार्यकर्ताले घमण्ड गर्ने र जनतामाथि अपमानजनक व्यवहार गर्ने छुट नभएको बताएका छन्।

उनले जनताको विश्वासलाई शक्तिको दम्भ देखाउने माध्यम नभई अझ बढी जिम्मेवार भएर काम गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टीपङ्क्तिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तामा पछिल्लो समय अहंकार, अवसरवाद र जिम्मेवारीबाट विमुख हुने प्रवृत्ति देखिन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ। माथिदेखि तलसम्म हामीले मान्छेलाई मान्छे गन्न छाडेका छौँ,’ उनले भने, ‘यसरी हुँदैन, हामीले कुनै हालतमा भुइँ छोड्नु हुँदैन।’
उनले रास्वपाले प्राप्त गरेको जनमत जनताको सेवा गर्नका लागि भएको उल्लेख गर्दै प्रशासन, प्रहरी र सरकारी निकायमाथि राजनीतिक दबाब दिने तथा पार्टीको नाममा शक्ति प्रदर्शन गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

लामिछानेले विगतमा पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिशोध, मुद्दा र विभिन्न प्रकारका दबाबको सामना गरेको स्मरण गर्दै अहिले शक्ति प्राप्त भएपछि त्यही व्यवहार अरूमाथि दोहोर्‍याउन नहुने बताए। समाजले पार्टीका गतिविधिमाथि प्रश्न उठाउँदा आलोचकलाई आक्रमण गर्नुभन्दा आफ्नै व्यवहार सुधार गर्नुपर्ने उनको भनाइ थियो।

उनले पार्टीभित्र बढ्दै गएको पद र अवसरप्रतिको आकांक्षाप्रति पनि चिन्ता व्यक्त गरे। वडा तहमा जिम्मेवारी लिएर संगठन निर्माण गर्नुभन्दा एकैपटक मेयर, प्रदेश सांसद वा उच्च पदमा पुग्न खोज्ने प्रवृत्तिले पार्टीको राजनीतिक संस्कार कमजोर बनाउने उनले बताए।
‘वडाध्यक्ष हुन मन छैन, एकैचोटि सभापति र मेयर बन्ने चाहना छ। यसले हामी अवसरको राजनीतितिर गइरहेका छौँ भन्ने देखाउँछ,’ लामिछानेले भने।

उनले राजनीतिलाई एउटा निर्वाचन जित्ने माध्यमका रूपमा मात्र नलिन आग्रह गर्दै चुनाव हारे पनि राजनीतिक निष्ठा र प्रतिबद्धता कायम राख्नुपर्ने बताए। १८२ सिट जितेको पार्टी भोलि दुई सिट वा शून्य सिटमा पुगे पनि राजनीतिक सिद्धान्त र जनताप्रतिको जिम्मेवारीबाट विचलित हुन नहुने उनको भनाइ थियो।

पार्टीभित्र टिकट वितरणका विषयमा पनि उनले स्पष्ट धारणा राखे। रास्वपाले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ विधि अपनाएको उल्लेख गर्दै उक्त प्रक्रिया पारदर्शी र विधिसम्मत हुने दाबी गरे। आन्तरिक प्रतिस्पर्धामा आफूले टिकट नपाए पनि पार्टीको निर्णय स्वीकार गरी चयन भएका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उनले बताए।

‘आफूले जित्न सकिएन र आफ्नै पार्टीको अर्को साथीले आन्तरिक चुनाव जित्यो भने एक–दुई दिन दुःख लाग्ला, तर तेस्रो दिनदेखि त्यही साथीको पक्षमा मत माग्दै हिँड्न सक्नुपर्छ,’ उनले भने।
लामिछानेले पार्टीभित्र एकअर्काको प्रगतिमा ईर्ष्या गर्ने र पदमा पुगेपछि पुराना सहयात्रीलाई बेवास्ता गर्ने दुवै प्रवृत्ति गलत भएको बताए। सँगै संघर्ष गरेका साथी सांसद वा अन्य जिम्मेवारीमा पुग्दा खुसी हुनुपर्ने र संगठनमा रहेका सबैलाई सम्मान गर्नुपर्ने उनको आग्रह थियो।

उनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले लामो समयसम्म संघर्ष गरेर राजनीतिक उपलब्धि हासिल गरेको उदाहरण दिँदै रास्वपाका नेता तथा कार्यकर्ताले पनि कठिन परिस्थितिमा निष्ठा कायम राख्नुपर्ने बताए।
चितवनबाट सुरु भएको राजनीतिक यात्रालाई राष्ट्रिय सफलतासम्म पुर्‍याउन सहयोग गर्ने कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गर्दै उनले पार्टीले प्राप्त गरेको जनमतलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताए।

उनका अनुसार रास्वपाले चुनाव जित्नका लागि मात्र नभई एउटा पुस्ताको भविष्य निर्माण गर्ने उद्देश्यसहित राजनीति गर्नुपर्छ। त्यसका लागि पार्टीभित्र अनुशासन, एकता, त्याग, निष्ठा र जिम्मेवारीको संस्कार विकास गर्न आवश्यक रहेको उनले जोड दिए।

Leave a Comment